नेपालमा पशु विकासको सुरु जंगबहादुर राणाको बेलायत भ्रमणबाट जर्सी गाई नेपालमा भित्र्याएर भएको देखिन्छ। सरकारी संरचनामा पशु विकासलाई विस्तार गर्न साविकको ७५ जिल्लामा पशु सेवा सम्बन्धि कार्यालय विस्तार गर्ने सिलसिलामा कास्की जिल्लामा विधिवत रुपमा वि.सं. २०२८ सालमा भेटेरिनरी डिस्पेन्सरीको रुपमा स्थापना भई आ.व. २०३७ /३८ सालमा उक्त डिस्पेन्सरीलाई पशु चिकित्सालयमा परिणत गराई कार्यालयको रुपमा संचालन गरिएको थियो। आ.व. २०४३/०४४ सालमा यस कार्यालयलाई जिल्ला पशु विकास तथा पशु स्वास्थ्य कार्यालयबाट जिल्ला पशु सेवा शाखामा परिणत गरियो। तत् पश्चात आ.व. २०४९/५० सालमा यस कार्यालयलाई नेपाल सरकारले एक छातामूनि अवधारणामा राखी जिल्ला कृषि विकास कार्यालय अन्तर्गत पशु सेवा शाखाको रुपमा राखी कार्यक्रम संचालन गरिएको थियो ।पशु विकास कार्यक्रम समयको माग मात्र नभई नेपाल सरकारको दायित्व भएको हुँदा आ.व. २०५२/०५३ सालमा नेपाल सरकारले एक छाताको अवधारणालाई छुट्ट्याई विभागदेखि जिल्ला स्तरसम्म परिवर्तन गरी जिल्ला पशु सेवा कार्यालयको नामाकरण भई जिल्लाको सबै निर्वाचन क्षेत्रमा सेवा प्रवाह भएको थियो।

नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उद्देश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था भएको छ।संवैधानिक व्यवस्था अनुसार २०७४ सालमा तीनै तहको निवार्चन सम्पन्न भई मुलुक संघीयता कार्यार्न्वयनको चरणमा अगाडि बढि रहेको छ। पछिल्लो चरणमा देशलाई एक संघ, सात प्रदेश तथा ७५३ स्थानीय (महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका  गाउँपालिका) तहमा विभाजन गरि सबैलाई संविधानले प्रदत्त गरेको आर्थिक, प्रशासनिक तथा राजनीतिक अधिकारको उच्चतम् प्रयोग गर्ने अवसर प्राप्त भएको छ । यहि क्रममा गण्डकी प्रदेशको स्थायी प्रदेश सदरमुकाम पोखरामा २०७४ साल माघ २२ गतेका दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको औपचारिक स्थापना भएको हो।यसका साथै गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रही पशुपंक्षी तथा मत्स्य विकासका माध्यमवाट स्वरोजगार प्रवर्द्धन र आय आर्जनका वैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समुदायको गरिबी न्यूनीकरण, शारिरिक पोषण र जीवनस्तर सुधार गर्दै व्यावसायिकरण, उत्पादन विविधिकरण, बजारीकरण लक्षित रणनीति अख्तियार गरि उद्यमशीलताको प्रवर्द्धन र पशुपंक्षी तथा मत्स्य जन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हाँसिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कास्की जिल्लाको ५ वटा स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा २०७५ साल भाद्र महिना ११ गतेबाट यस गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट विधिवत रुपमा यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीको समुद्घाटन भएको हो। यस कार्यालयको कार्य क्षेत्र कास्की जिल्ला मात्र रहेको र यस कार्यालय हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ मा अवस्थित रहेको छ ।साविकको जिल्ला पशुसेवा कार्यालय अन्तर्गतका सबै सेवा केन्द्रहरु भने हाल स्थानीय तह अन्तर्गतको पशु सेवा शाखा र सेवा केन्द्रको रुपमा रही कार्य संचालन भई रहेको छ।साथै विगतमा जिल्ला कृषि विकास कार्यालयले गर्दै आएको मत्स्य सम्बन्धि सम्पूर्ण कार्यहरु हाल यस कार्यालयले संचालन गर्ने गरि जिम्मेवारी थपिएको छ ।